
सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुबहाक सवारी साधन गुडाउन रोक लगाउने भएको छ ।
दसैं र तिहार लगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधनको क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुबहाक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो ।
यस्तै दुर्घटना भई बिरामीको हवाई मार्गबाट अस्पतालसम्म लैजानु पर्ने भएमा यातायात व्यवसायी महासङ्घले नै खर्च बेहोर्नुपर्ने छ ।
सरकारले हिजो सवारी दुर्घटना रोकथाम तथा न्युनीकरण एवं समाधानका लागि समन्वय गर्न गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरी लगायत सम्मेलित समिति गठन गरेको थियो ।
हिजो समितिको बैठक बसेर सार्वजनिक यातायातबाट हुने यात्रा सुरक्षित र व्यवस्थित गर्न १४ बुँदे निर्णय गर्दै बीमा र सवारी यान्त्रिक जाँचलाई कडाइका साथ लागू गर्ने उल्लेख गरेको छ ।
लामो दुरीका हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बर लगायत व्यवस्था मिलाउनु पर्ने छ ।
तीव्रगतिमा सवारी चलाए तत्कालै प्रहरीलाई खबर गर्न सकिने र त्यसका लागि हटलाइन व्यवस्था मिलाइने छ । मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति निरुत्साहित गर्न फिल्डमै किटबाट परीक्षण गरिने, लागूपदार्थ प्रयोग गरे नगरेको पत्ता लगाउन प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट टोली खटिने पनि निर्णय पनि समितिले गरेको छ ।
दुर्घटना न्यूनीकरणमा पूर्वसतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासङ्घका सदस्य सहभागी समिति गठन गर्नुपर्ने पनि समितिले जनाएको छ ।