सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार बितरण गर्दै मन्त्री कार्कीले समाज रुपान्तरणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको र समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वर्ण योगदान रहेको बताउनुभएको हो ।
हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उहाको भनाइ छ । उहाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चारजगतले खेलेको भुमिकाको स्मरण गर्नुभयो ।
यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई २०६३ सालदेखि वर्षेनी पुरस्कृत गर्दै आएको छ ।