
काठमाडौं, असोज ५
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेपाल तमु संघ(समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताउनुभएको हो । नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उहाले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाले आफ्नै देशको राष्ट्रपतिबिरुद्ध असंवैधानिक काम गर्यो भन्ने बोल्न बाध्य भएको बताउनुभयो । यसअघि पनि केपी ओलीको गुटले गरेको संसद बिघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गर्नुभयो ।
खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गर्नुभयो ।