जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। उनको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि करिब एक वर्ष जापानको प्रधानमन्त्रीका रूपमा नेतृत्व गरेका थिए। प्रधानमन्त्री रहँदा उनले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए।
उनले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिएका थिए। सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो।
भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गरेका थिए।
लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सन् २०१२ मा उनले सक्रिय राजनीतिबाट अवकाश लिएका थिए।
जापान र चीनबीच विवादित टापु तथा ऐतिहासिक मुद्दालाई लिएर सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन भ्रमणमा गएका थिए। उक्त भ्रमणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो।









