१० कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आज बिहान ८:४५ बजे एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।
घाइतेहरूलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










