काठमाडौं, १६ वैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको भू–बनावट, भेषभुषा र सांस्कृतिक विविधताका कारण विश्वमा नेपालको विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा शनिबार ललितपुरमा आयोजित भिन्छेबाहाः बौद्ध महोत्सवको उद्घाटन गदैं नेपालको विशिष्ट पहिचान जनाउन क्षेत्रलाई संरक्षण गर्नुपर्ने समेत बताउनुभयो । उहाले विश्वको शिखर सगरमाथा र विश्वमै शान्तिको प्रतिकको रुपमा रहेको गौतम बुद्धले नेपालको शिर उच्च बनाएको धारणा राख्नुभयो ।
यादवले अहिले पनि गौतम बुद्धको वाणीहरु सान्दर्भिक रहेकाले यसलाई सवैले अनुसरण गर्नुपर्ने बताउनुभयो । समाजलाई योग्य चेतनाबोधको बाटो देखाउने र विश्वलाई हिंसाको बाटो छोडी अहिंसा, मित्रता, विश्वबन्धुको मार्ग प्राप्त गर्नका लागि बुद्धको वाणीहरु महत्वपूर्ण रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवले बौद्ध कला प्रदर्शनको उद्घाटन गर्दै प्रदर्शनी सम्बन्धी पुस्तक बिमोचन गर्नुभएको थियो ।











