काठमाडौं, बैशाख १२ । प्रतिनिधिसभा बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथि बिचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार मन्त्री रेशा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलपछि उक्त विधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री शर्माले नितिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि विधेयकलाई बलियो बनाउनुपर्ने बताउनुभयो । भ्रष्टाचार रोक्न कानुन मात्रै नभई समाजका सबै अवयव सक्रिय हुनुपर्ने उहाले बताउनुभयो । सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्ने उहाको भनाइ छ ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउसो ३ बजे बोलाइएको छ ।











