एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख । राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ ।

एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।  मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले ।  मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाए ।  भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे ।  कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

यस्तै, मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो।  मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।

३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो ।

विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा  साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।
१० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

नेपालको अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्