काठमाडौं, ५ वैशाख । मिटरव्याजी पीडितहरुले योजनावद्ध रुपमा मिटरव्याज विरुद्धको आन्दोलनलाई भड्काउने र उत्तेजित बनाउने काम भएको आरोप लगाएका छन् ।
हिजाे प्रहरीसंग झडप भएपछि मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिटरव्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले प्रहरी स्वयंले योजनाबद्ध रुपमा आन्दोलनलाई भड्काउने, उत्तेजित बनाउने र दमन गर्ने नीति अख्तियार गरेको आरोप लगाएको हो ।
उनीहरुले आफुहरुको शान्तिपूर्ण आन्दोलनस्थलभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, असक्त तथा विरामीमाथि अन्धाधुन्ध कुटपीट गरेको गुनासो गरेका छन् । यसअघि सोमबार मार्चपास गर्न खोज्दा मिटरव्याजी पीडितलाई प्रहरीले शान्तिबाटीकाको गेटबाट बाहिर निस्कन नदिएपछि झडप भएको थियो ।
झडपका क्रममा ५० भन्दा बढि पीडित घाइते भएको उनीहरुले जनाएका छन् । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले प्रशासनसंग समन्वय गरेर मार्चपास गर्न खोज्दा पनि प्रहरीले हस्तक्षेप गरेको बताउनुभयो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले आन्दोलन गरिरहेका छन् ।











