काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिनुभएको छ ।
आज प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमवार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गर्नुभयो । गरिब र निमुखा ती मानिसमाथि किन आक्रमण गर्नुपरेको भनी सरकारलाई उहाँले प्रश्नसमेत गर्नुभयो ।
अध्यक्ष लिङ्देनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताउनुभयो । अध्यक्ष लिङ्दनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।











