काठमाडौं, ४ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयमा किताब (पाठ्यपुस्तक) पुगेको छ । गएकाे चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयमा किताब पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
आज सोमवार किताब बिक्री–वितरण र छपाइकाे विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपछि केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा किताब पुर्याउने गरी काम भइरहेको बताउनुभयो । उहाँले केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख किताब छपाइको काम सम्पन्न गरी बिक्री–वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका विद्यालयमा किताब पुगेकाे र अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म किताब पुग्ने बताउनुभयो ।
प्रबन्धक झाले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर किताब बिक्री–वितरण गरेको बताउनुभयो । पुस्तक छपाइ गर्ने मेशिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै किताब पुर्याउन सफल भएको बताउनुभयो ।
प्रबन्धक झाले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड रुपैयाँ ऋण लिएर पुस्तक छपाइ गरेको जानकारी दिनुभयाे । उहाँले पुस्तक बिक्री–वितरण गरेसँगै ४० करोड रुपैयाँ ऋण चुक्ता गरिसकेको पनि बताउनुभयो । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाइमा थप सहज भएको उहाँकाे भनाइ छ ।
केन्द्रका अनुसार सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विद्यालयमा किताब पुग्न बाँकी छ ।











