राहुल गान्धीको सांसद पद खारेजी बिराेधमा सांसदद्वारा कालो पोसाक लगाएर प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसका सांसदले संसदमा कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेपछि दुवै सदनको बैठक स्थगित भएको छ ।

कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजी प्रकरणलाई लिएर कांग्रेससहित १७ वटा प्रतिपक्षी दलका सांसदहरू कालो पोसाकसहित सदनमा उपस्थित भएर सरकारको विरोध गरेका बीबीसी हिन्दीले जनाएको छ । उनीहरूले भारतमा लोकतन्त्रको कालो अध्याय सुरु भएको बताएका छन् । बिहान ११ बजे राज्यसभा तथा लोकसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेका थिए ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुनले प्रधानमन्त्री मोदीले भारतमा लोकतन्त्र सिध्याउन लागेको कुरा उजागर गर्न प्रतिपक्षले कालो वस्त्र धारण गरेको बताउनुभयो । भारतीय राष्ट्रिय कांग्रेसले सुरु गरेको ब्ल्याक प्रोटेस्टमा तृणमुल कांग्रेसले पनि सहभागिता जनाएको छ । भारतीय कांग्रेसले अहिले देशभर ब्ल्याक प्रोटेस्टको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्