संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीबिरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । संसदको कार्यकाल केहि दिनमा सकिने भएपछि प्रक्रिया छोट्याएर सुनुवाई गर्ने बिषयमा बैठकमा छलफल भएको थियो । तर त्यसले बाहिर नकारात्मक सन्देश जाने भएकाले नियमित प्रक्रिया नै सुरु गर्ने निर्णय बैठकले गरेको हो । समिति सभापति कर्णले संसदीय सुनुवाई समितिको कार्यबिधि अनुसार नै प्रस्तावित व्यक्तिहरुको बारेमा उजुरी दिन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले सार्वभौम प्रतिनिधिसभाको समयावधी तोक्ने काम आयोगलाई नभएको बताएका थिए । बैठकमा एमाले मुख्य सचेतक बिशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद देव गुरुङले कार्यकालको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने धारणा राख्नुभयो ।
न्यायधिशका लागि सिफारि भएका दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुुनुहन्छ भने शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुनुहुन्छ । त्यस्तै पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुनुहुन्छ ।