स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी तथा सर्वसाधारणहरूलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले आज जारी गरेको सूचनामा डेङ्गी रोगको सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरेको छ ।
सरकारी तथा गैह्र सरकारी, निजि क्षेत्रमा काम गर्ने सम्पूर्ण कर्मचारी तथा सर्वसाधारणलाई लामो बाहुला भएको कपडा लगाउन मन्त्रालयले भनेको हो । डेङ्गी फैलाउने लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ ।
त्यसैले डेङ्गी रोग लाग्नबाट जोगिने उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।
मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको छ ।