काठमाडौं, फागुन ९ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मंगलबार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाइन्छ । ग्याल्पो ल्होसारको अवसरमा डोल्पा समूदायले काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा हिमाली भेगको कला संस्कृति झल्कने नाँचगान गरिएको थियो भने डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामा लगाएतले राजा रानाग आश्चर्यजनक जीवनी पुस्तक लोकार्पण गर्नुभएको थियो ।
पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।











