१६ जेठ, काठमाडौं । आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले ‘पार्टी जागरण अभियान’सुरु गरेको छ । नेताहरूलाई भूगोलमा केन्द्रित गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।
खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।
‘जिल्ला इन्चार्ज तोकिएका नेताहरुलाईसमेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’
पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसङ्गठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको हो ।
केन्द्रीय सदस्यहरू मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।
एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ ।
नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका मूख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।
अन्य सचिवहरु छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, ,यमलाल कँडेललाई कर्णाली इन्चार्ज,शेरधन राईलाई कोशी इन्चार्ज,राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।










