सुर्खेत, १९ माघ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुइ वर्ष देखि अलपत्र परेको छ ।
क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण हुन मुस्क्लि भएको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्य हुँदै आएको छ ।
तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ । १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुइ वर्ष अघि ठेक्का खोलेको थियो ।
क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्य देखिएको छ । निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ ।
हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो।
यता रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताउनुभयाे ।
पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।
जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन।
यता जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताउनुभयाे ।
ठाउँ , ठाउँमा ठेक्का लिदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन् ।











