असोजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू हुने

खबर बुक
  • ख-
  • ख+

आगामी असोजदेखि बागमती प्रदेशले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ ।

असोज १ गतेदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्ने तयारी गरिरहेको श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिनुभयो । यातायात व्यवस्था विभागले ट्रायलमा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था कार्यान्वयन गरिने बताएको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको भए पनि कार्यानवन हुन सकेन । पछिल्लो समय भने गण्डकी लगायत केही प्रदेशमा यो व्यवस्था लागू भइसकेको छ ।

 

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णाङ्कको प्रश्न सोधिनेछ । यसमा चार÷चार अङ्कका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् । लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ भने सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ । निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अङ्क ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।

 

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो । तर, यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ । अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ । प्रयोगात्मक परीक्षा १०० पूर्णाङ्कको हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्