२२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच मेलबर्नमा भेटवार्ता भएको छ। सो क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ र बहुआयामिक बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अष्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अष्ट्रेलिया नेपालको साथमा रहेको बताएकी छन् । अष्ट्ेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अष्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ ।
यसअघि अष्ट्रेलियाले आपतकालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अष्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुने बताइएको छ ।
मन्त्री खनालले विपद्को समयमा अष्ट्रेलिया सरकार र अष्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति आभार व्यक्त गरेका छन् । भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल र प्रशान्त क्षेत्रका मुलुकले भोगिरहेको साझा जोखिमबारे पनि छलफल भएको छ ।
भेटमा नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको उल्लेख गर्दै मन्त्रालयले अष्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अष्ट्रेलिया प्रतिबद्ध रहेको जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री खनाल अष्ट्रेलिया पुग्नुअघि फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी प्रि–कोप कार्यक्रमका लागि पुगेका हुन् ।










