राजदूत नियुक्तिमा रकम असुलेको आरोपबारे सांसद सुनारको बचाउ
काठमाडौं । राजदूत नियुक्तिमा करोडौँ रकम असुलेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले आफूविरुद्ध लगाइएका आरोपको बचाउ गरेका छन्।
आज केही युट्युबरसँग कुरा गर्दै सांसद सुनारले साउदी अरबका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसँग आफ्नो थर मात्र मिलेको दाबी गरे। उनले गिरबहादुरसँग आफ्नो कुनै आर्थिक साँठगाँठ नरहेको र आफूले उनलाई नचिनेको बताए।
सांसद सुनारले प्रहरीको उच्च नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि आफूविरुद्ध नियोजित रूपमा षड्यन्त्र र घेराबन्दी गरेको आरोप लगाए।
दलित आन्दोलनका नाममा १० करोड रुपैयाँ उठाएर हिनामिना गरेको तथा सरुवा–बढुवामा लेनदेन गरेको आरोपलाई उनले व्यङ्ग्यात्मक रूपमा अस्वीकार गरे।
उनले भने, ‘६० लाख दलितहरूले मलाई पार्टी खोल्न ६० करोड दिनुभएको थियो, १० करोड मात्र आयो भन्नुहुन्छ, बाँकी ५० करोड कहाँ गयो त्यो पनि खोज्नुस्। मेरो नाममा कुनै व्यापार, व्यवसाय वा सेयर छैन। नागरिकता र पासपोर्टबाहेक अरू केही सम्पत्ति छैन।’
भारत, अमेरिका, नरेन्द्र मोदीदेखि बालुवाटार र न्युरोडका सुन पसलसम्म जोडेर आफूलाई बदनाम गराउन भ्रामक प्रचार गरिएको पनि उनले टिप्पणी गरे।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारले सांसद खगेन्द्र सुनारसँग मिलेर रकम व्यवस्थापन गरेको विषयमा संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। यस विषयमा सांसद सुनारले आफूहरू ‘थर’ मात्र मिल्ने दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपैयाँ लिएको भन्ने आरोपलाई पनि उनले कपोलकल्पित भएको बताएका छन्।
सुनारले नेपाल प्रहरीको हेडक्वार्टर र सीआईबीले आफूविरुद्ध व्यक्तिगत प्रतिशोध साध्न खोजेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि आफू र प्रहरी नेतृत्व दुवै तयार हुनुपर्ने बताए।
उनले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नामै लिएर स्रोतसाधनको दुरुपयोग गरी मिडिया र सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्न साइबर टिम परिचालन गरेको दाबीसमेत गरे।
‘सीआईबीले प्राइभेट नम्बरबाट फोन गरेर मसँग जोडिएका मान्छेहरूलाई धम्काइरहेको छ, मेरो पछाडि डीएसपी र एसपी खटाइएको छ,’ सुनारले भने, ‘दम छ भने प्रहरी महानिरीक्षकले बर्दी खोलेर राजनीतिमा आउनुपर्छ। हेडक्वार्टरमा बसेर सांसदलाई लखेट्न मिल्दैन।’
सुनारले आफूले पद छोड्नसमेत तयार रहेको बताउँदै आफूमाथि लागेका आरोप प्रमाणित भएमा संसद्बाट बाहिरिने दाबी गरे।










