काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले कांग्रेस र राज्यले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने बताएका हुन्।
देउवाले १४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ उनले भनेका छन्।
उनले कांग्रेसभित्र देखिएको वर्तमान विवाद र असमझदारीप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको बताएका छन्। पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको उनको आरोप छ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम निर्णय नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको जिकिर छ।
उनले पार्टीभित्र सहमति र सहकार्यको पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु कांग्रेसलाई कमजोर बनाउने गतिविधि भएको बताए।
देउवाले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले प्राकृतिक विपत्तिका कारण भोटेकोशी क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा सबै नेपाली एकजुट हुन आह्वानसमेत गरेका छन्।
देउवाले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई अपिल गरेका छन्।
उनले कांग्रेसभित्रको एकता, सहमति र सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।











