काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले सांसदहरू एआईमय भएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले सरकारबाट आएको विषयलाई समर्थन वा विरोधमा ताली बजाएर मात्रै आफ्नो भूमिका पूरा नहुने बताए। सांसदहरूले आफ्नो विवेक, ऊर्जा र समय देश तथा नागरिकका लागि प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
‘अहिले संसद् यति एआईमय भएको छ कि, अब संसद्मा कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ । यो कुरालाई पनि हामीले रोक्नुपर्ने भएको छ,’ सांसद कार्कीले भने।
उनले सरकारबाट के आउँछ र त्यसलाई समर्थन वा विरोधमा ढ्यापढ्याप पार्दैमा सांसदको भूमिका पूरा नहुने बताए।
‘सरकारबाट के आउँछ र समर्थन वा विरोधमा ढ्यापढ्याप पारौं भनेर मात्रै कोही सांसद हुँदैन । आफ्नो विवेक, ऊर्जा र समय यो समयभित्र देश र नागरिकका लागि प्रयोग गरौं भन्नेमा ध्याउन्न हुन्छ,’ उनले भने।
सांसद कार्कीले त्यसका लागि स्रोत र साधनको विभिन्न किसिमले प्रयोग गर्नुपर्ने बताए।
संसद्ले आफ्नो दोस्रो अधिवेशनको उत्तरार्ध अनुभव गरिरहेको उल्लेख गर्दै उनले सोच, प्रविधि र साधनमा परिवर्तन आवश्यक रहेको बताए।
‘यो अधिवेशनको समाप्तीसँगै संसद् अधिवेशनको एउटा चक्र पूरा हुन्छ । यदि हामीले हाम्रो सोच, प्रविधि र साधन फेरेनौं भने पहिलो र दोस्रो अधिवेशनजस्तै अबका अधिवेशन पनि पूरा हुनेछन् । अबका वर्षहरू सकिनेछन्,’ उनले भने।











