काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘राज्यले केही गरेन’ र ‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई प्रतिनिधिसभाबाट जवाफ दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले विपद्को समयमा राज्यले गरिरहेको कामलाई देखाएर ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।
‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ भनेर दृश्यसहित स्पष्ट पार्नु हो,’ उनले भने ।
लामिछानेले विपद्को समयमा राज्य उद्धार, राहत तथा पुनर्स्थापनामा सक्रिय रहेको दाबी गरे ।
उनका अनुसार राज्य अहिले भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको सहारा बन्न राज्य दिनरात खटिरहेको उनले बताए ।
यस्तै, बाढीले बगाएका सडक र चुँडिएका पुल निर्माणसँगै विपद्का कारण टुटेको नागरिकको भरोसा जोड्ने प्रयास पनि भइरहेको लामिछानेको भनाइ छ ।
भविष्यमा यस्ता विपद् दोहोरिन नदिन बलियो पूर्वतयारी र सुरक्षित संरचनाको खाका तयार पार्ने काम भइरहेको उनले बताए ।
‘राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ,’ लामिछानेले भने ।











