काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्ता समीकरणमा नेकपा एमालेले अनैतिक खेल खेलेको आरोप लगाएका छन् ।
संसदीय दलका नेता उद्दव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको सन्दर्भमा बोल्दै उनले एमालेले संस्थागत छलफल गर्नुको सट्टा सांसदहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्न खोजेको बताए ।
आज कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निस्काशन गर्ने निर्ण गरेको छ । साथै उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउने भनिएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लिङदेनले निर्णयको प्रतिरक्षा गरे ।
पार्टी निर्णय लत्याएर थापाले अनुशासन उल्लङ्घन गरेकाले कारबाही गरिएको उनको भनाइ छ । सरकारमा जाने सबैलाई कारवाही गरिने पनि उनले बताए ।
लिङदेनको पूरा भनाइ यस्तो छ :
आजको बैठकमा एउटा प्रस्तावमा मात्रै छलफल भएको थियो । बागमती प्रदेश सभामा पार्टीको निर्णय र निर्देशन विपरीत पार्टीको नामबाट नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको भन्ने विषयमा छलफल गरियो ।
पार्टीले बारम्बार निर्देशन दिँदा पनि त्यसको उल्लङ्घन गर्दै प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाउनुभएको छ । निजलाई हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । समयमा जवाफ समेत नदिएको र उक्त सिफारिस अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
पत्रकार : भर्खरै हामीसँग बाहिर कमल थापाले प्रदेश सभाका सांसदहरुले अन्तिम समयसम्म पर्खिरहँदा पनि पार्टीबाट कुनै निर्देशन नगएको बताउनुभयो नि ?
लिङदेन : बिल्कुल गलत हो । हामीले २० गते पार्टीको तर्फबाटै निर्णय गरेका छौँ । केन्द्रीय कार्य सम्पादन समितिले उपयुक्त समयमा उचित निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको थियो । त्यो निर्णयमा सिद्धान्ततः राप्रपा अहिले कुनै पनि प्रकारको चलखेलमा अथवा सत्ता निर्माण र विघटनको काममा सहभागी नहुने तथा कुनै विशेष निर्णय गर्नुपर्यो भने अध्यक्षले गर्ने भन्ने जिम्मेवारी दिएको थियो । त्यही बमोजिम हामीले २१ गते बागमती प्रदेश सभाका सबै सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालयमै बोलाएर निर्देशन र जानकारी गराएका थियौँ ।
लिखित रुपमा, मौखिक रुपमा र त्यसपछि प्रदेश सभाको संसदीय दलको बैठकले जहाँ ११ जना प्रदेश सभा सदस्यहरु उपस्थित हुनुहुन्थ्यो, उहाँहरुले पार्टीको निर्देशन बमोजिम कसैलाई पनि हामी समर्थन गर्न नजाने, पार्टीको निर्देशन बमोजिम परिचालित हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
त्यसपछि भदौ १ गते पत्र नै सार्वजनिक भएको छ । हामीले संक्षिप्तमा निर्देशन दिएका छौँ कि बागमती प्रदेश सभा सरकारको समर्थन र विरोधका कुनै पनि पक्षमा राप्रपा संलग्न नहुने र अर्को निर्देशन नआएसम्म तटस्थ बस्ने भनेर । त्यही बमोजिम भदौ १ गते प्रदेश संसदीय दलले तटस्थ बस्ने निर्णय गरेकोमा अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने जुन पत्र बुझाइयो, त्यो अनुशासनको गम्भीर उल्लङ्घन हो ।
पत्रकार : यो प्रकरणमा आर्थिक चलखेलको पनि आशंका गर्नुभएको छ ?
लिङदेन : अनुशासन उल्लङ्घनको विषय हो । त्यो एउटा पाटो भयो । अर्कोतर्फ एमालेले विगतमा जसरी सत्ता केन्द्रित गतिविधिमा दलहरुका बिचमा खेल्ने काम गर्थ्यो, त्यो अहिले पनि गरेको प्रस्ट रुपमै आयो । किनभने एमालेले पार्टीलाई औपचारिक रुपमा सरकार निर्माणको क्रममा कुनै सहयोगको आग्रह गरेको छैन । कुनै पत्र पनि लेख्ने र पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन चाहियो भनेर आग्रह पनि नगरिकन प्रदेश सभा सदस्यहरुलाई हातमा लिने खालको प्रयास गरियो । अहिले यो जुन परिणाम बाहिर आएको छ, यसबाट चलखेल भन्ने कुरा प्रस्टै हुन्छ ।
त्यसमाथि अहिले अनुशासनको कारबाहीको सिलसिलामा केही फरक मत देखाउने कोसिस गरियो, त्यो पनि सबै एउटा सिलसिलावार योजनाबद्ध भएको भन्ने कुरा हामीले ठानेका छौँ । तर अब पार्टीले यस प्रकारका अनुशासन उल्लंघनका विषयलाई गम्भीरतापूर्वक लिएको छ । अहिले संसदीय दलको नेतालाई कारबाही गरेका छौँ । र अब सरकारमा जो-जो सहभागी हुन्छन्, उनीहरुलाई पनि कारबाही हुन्छ ।










