दुर्गा प्रसाईंलाई म्याद नथप्ने आदेश दिँदा अदालतले के भन्यो ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश नवराज दाहालको इजलासले सरकारी वकिलको कार्यालयले मागेको म्याद थपको मागलाई अस्वीकार गर्दै प्रसाईलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने आदेश दिएको हो ।

अदालतको आदेशमा वादी (नेपाल सरकार) पक्षबाट प्रतिवादी (दुर्गा प्रसाई) लाई हिरासतमा नराख्दा उनले ‘प्रमाण नष्ट गर्ने’ वा ‘भागी जान सक्ने’ भन्ने विषयमा कुनै ठोस आधार पेश हुन नसकेको उल्लेख छ ।

कानुनतः हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अभियुक्तले प्रमाण नष्ट गर्न सक्ने वा भाग्न सक्ने जोखिम हुनुपर्छ, जुन यस मुद्दामा पुष्टि हुन नसकेको अदालतको ठहर छ ।

प्रहरीले पेश गरेको साढे ७ मिनेटको भिडियो सामग्री र प्रहरी प्रतिवेदनका आधारमा यदि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूर देखिएको हो भने सोही प्रमाणका आधारमा अभियोग पत्र पेश गर्न सकिने अवस्था रहेको आदेशमा उल्लेख छ । यसका लागि प्रसाईलाई थुनामै राख्नु अनिवार्य नदेखिएको न्यायाधीशले बताएका छन् ।

प्रसाईमाथि लागेको आरोप (गुम्बाभित्र हतियार छ भन्ने र जातजातिलाई भड्काउने अभिव्यक्ति) का सन्दर्भमा उनले ती कुरा बोलेको अवस्थामा पनि प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाउन सकिने र उनलाई थुनामै राख्नुपर्ने अवस्था नदेखिएको अदालतले जनाएको छ।

सरकारले दुर्गा प्रसाईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको भन्दै हिजो राति पक्राउ गरी म्याद थपका लागि अदालत पेश गरेको थियो । तर, अदालतले हिरासतमा नराखी प्रमाण नष्ट गर्ने वा भागी जान सक्ने अवस्था समेत वादी पक्षबाट ठोस आधार पेश हुन नआएको हुँदा थुनामुक्त गरिदिएको हो । प्रसाईं आज छुटिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्