यातायात कार्यालयका सेवा ८ दिनदेखि ठप्प, के हो समस्या ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेदेखि नै देशभरका यातायात कार्यालयबाट दिइने सबै सेवा बन्द छन् । पुरानो सिस्टम विस्थापित गरिएको, तर नयाँ सिस्टम सञ्चालनमा आउन नसकेकाले ८ दिनदेखि यातायात कार्यालयका सेवाहरु ठप्प बनेका हुन् ।

समस्या समाधानका लिग यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरिरहेको छ । विभागमा लाइसेन्स वितरण गर्ने कार्यालयका प्रमुख र प्राविधिक प्रमुखहरु छलफलमा सहभागी छन् । साथै, लाइसेन्स छपाइ गर्ने सुरक्षण मुद्रण केन्द्रबाट पनि प्रतिनिधि पनि छन् ।

यातायात व्यवस्था विभागले यातायातसम्बन्धी सेवालाई थप सेवामैत्री, सरल र व्यवस्थित बनाउन नयाँ एकीकृत डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ । विभागले गत ४ गते सूचना जारी गर्दै सेवाग्राहीका विवरणलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको जनाएको थियो ।

यस प्रणालीमार्फत नागरिकहरूले राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्न यातायात सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्ने बताइएको छ । विभागका अनुसार २०८३ साउन १ गतेदेखि लागू गरिएको नयाँ प्रणालीमार्फत सेवाग्राहीका विवरणहरू स्वतः भर्ने (अटो फिल) व्यवस्था समेत गरिएको छ ।

तर नयाँ प्रणालीले काम नगरेपछि देशभर सेवा अवरुद्ध भएको छ । आजको छलफलमा यातायात कार्यालयका कर्मचारीले सिस्टममा आइरहने समस्याका कारण काम गर्न नसकेको गुनासो गरेका छन् ।

यातायात व्यवस्था विभाग स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यालयबाट नयाँ सफ्टवेयर आएको हो । तर नयाँ सफ्टवेयर आएदेखि नै सेवा सञ्चालन भएको छैन । अहिले त्यसैका लागि सातै प्रदेशका यातायात कार्यालयका कर्मचारीलाई बोलाएर बैठक बसिरहेका छौँ ।’

प्रधानमन्त्री कार्यालयले यो सफ्टवेयर कहाँबाट खरिद गरेको हो भन्ने विभागलाई जानकारी छैन ।

स्रोतले भन्यो, ‘हाकिमले नै सोध्ने आँट गरेका छैनन्, हामीले सोध्ने कुरा भएन ।’

यातायात कार्यालय कास्कीबाट बैठकमा आएका प्रतिनिधिले भने, ‘केन्द्र सरकारले लाइसेन्स र सवारी सम्बन्धी सबै सेवा बन्द गरेको छ । राज्यले सेवाग्राहीको समस्या बुझेन ।’

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरका सूचना अधिकारी धीरज राउतले नयाँ आर्थिक वर्षको सुरुआतसँगै यातायात व्यवस्था विभागले डाटा माइग्रेसन तथा नयाँ प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू प्रभावित भएको बताए ।

उनले भने, ‘नयाँ प्रणाली जडान र राजस्वका दरहरू समायोजन गर्ने कार्य भइरहेकाले साउन १ गतेदेखि नै लाइसेन्स नवीकरण, नयाँ आवेदन तथा वर्ग थपका लागि राजस्व बुझाउने जस्ता सेवा पूर्ण रूपमा ठप्प बनेका छन् । पुरानो प्रणालीबाट काम गर्न नमिल्ने र नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले सेवाग्राहीहरू सास्ती भोग्न बाध्य भएका छन् ।’

आजको छलफलमा देशभरका यातायात कार्यालयका कर्मचारीले अलि राम्रो सफ्टवेयर प्रयोग गरेर बेलाबेलामा आउने समस्या समाधान गर्नुपर्ने माग राखिरहेका छन् । उता, विभाग भने आफूसँग उपलब्ध भएको सफ्टवेयर नै चलाउन भनिरहेको छ । अहिले देशभर यातायातको सिस्टम यातायात व्यवस्था विभागले नै धानेको छ । केन्द्रको सिस्टममा समस्या आउँदा देशभरका यातायात कार्यालयको सेवा बन्द हुने गरेको छ ।

समस्या समाधानका लागि मन्त्रालयका उच्च अधिकारी तथा सचिवहरु सहितको पटक पटक बैठक र छलफल समेत गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्