काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई पार्टी फुटाउने र नयाँ दल गठन गर्ने कुनै रहर नभएको बताएका छन्।
सोमवार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै रहर नरहेको स्पष्ट पारे।
उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए।
आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए। नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।
खनालले भने, ‘हामी समाजवादी लोकतन्त्रमा पुग्न समाजवादी क्रान्ति र रूपान्तरण चाहिन्छ। हाम्रो आन्दोलनभित्र कतिपय विकृति र असमझदारी छन्। ती कुरा तोड्न यो किताबले सहयोग गर्यो भने मलाई त्यसले खुशी बनाउनेछ। यही भएर मैले वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद भन्ने पुस्तक लेखेको हुँ। केही मान्छेले झलनाथले अर्को पार्टी खोल्न थालेछ‚, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन्। झलनाथ खनाल गुट बनाउनु गलत हो भन्दै आएको मान्छे हो।’
उनले भ्रम र कुप्रचारको राजनीति नगर्न आग्रह गरे।










