पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका

खबर बुक
  • ख-
  • ख+

१ जेठ, बारा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । आङदेम्बेले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’

उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताए । समिति गठन भएपछि आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भनेका छन् । तर, उनले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने उल्लेख गरेका छन् । समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने आङदेम्बेको भनाइ छ ।

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिएको तीन साता बितेपछि सरकारले छानबिन समिति गठन गरेको छ । सरकारले बिहीबार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्