२६,वैशाख काठमाडौँ । वैशाख २८ गतेका लागि तय भएको भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका सचिव मिस्रले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
तर सचिव मिस्रीको भ्रमणबारे नेपाल र भारत दुवैले अधिकारिक घोषणा भने गरेका थिएनन्, दुवै पक्षले अनौपचारिक तयारी बताइरहेको थियो । गत चैतमा मरिससमा भारतका विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा सचिव मिस्रको नेपाल भ्रमण हुने कुरा बाहिर आएको थियो । त्यसपछि सचिव मिस्री स्वयं आफू नेपाल भ्रमणमा जान लागेको, भारतका लागि निवर्तमान नेपाली राजदूत डा. शंकार शर्माले पनि त्यहाँका सञ्चारकर्मीसँग मिस्री नेपाल जाने चर्चा गरेका थिए । भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले मे ११ मा मिस्री नेपाल भ्रमणमा जाने उल्लेख गरेका थिए ।
यता, परराष्ट्र मन्त्रालयले भने भ्रमणको जानकारी नगराए पनि नियमित पत्रकार सम्मेलनमा चाँडै उनको भ्रमण हुने बताएको थियो ।
तर अचानक मिस्रीको भ्रमण स्थगित भएको छ । भ्रमण स्थगित हुनुको एउटै कारण नेपाल–भारतको सीमा विवादलाई मानिएको छ । स्रोतहरूका अनुसार ‘लिपुलेकलाई लिएर नेपाल–भारतले आफ्नो अडान जारी राखेका बेला सचिवस्तरीय भ्रमण उचित नहुने ठानिएको हो ।
हाल नेपालमा लिपुलेकको विषयलाई लिएर छिटफुट रूपमा विरोधका स्वरहरू देखिन थालेका छन् । यस्तो अवस्थामा उनको नेपाल भ्रमणले नराम्रो सन्देश जाने भन्दै भ्रमण स्थगित गरिएको स्रोत दाबी गर्छ । र यस्तो अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्नु/नभेट्नु कुनै महत्त्व नहुने जानकारहरू परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् । यद्यपि प्रधानमन्त्री बालेनले नभेटे पनि उनी आउने तयारी थिए, तर यही बिचमा लिपुलेक विवाद सुरु भएपछि उनको भ्रमण स्थगित भएको हो ।
भारतको न्युज एजेन्सी एएनआईले लेखेको छ, ‘दुईदिने भ्रमणका लागि मिस्रीले सोमबार काठमाडौँ अवतरण गर्ने तयारी थियो, तर यात्रा अप्रत्याशित रुपमा रद्द भएको विदेश मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन् ।’
यसैबिच नेपालको परराष्ट्र मन्त्रालयमा हिजो (शुक्रबार) भएको नियमित पत्रकार सम्मेलनमा मिस्रीको नेपाल भ्रमण स्थगितबारे राखिएको जिज्ञासामा प्रवक्ता लोकबहादुर क्षत्रीले भ्रमण रद्द हुनु र सीमा विवादबिच कुनै सम्बन्ध नरहेको बताएका थिए । उनले नेपाल र भारतबिच धेरै नजिकको सम्बन्ध भएको र एउटा मुद्दाले दुई देशबिचको सम्बन्धमा बाधा नपुर्याउने प्रतिक्रिया दिएका थिए ।
यता पूर्वराजदूत नीलाम्बर आचार्यले भने मिस्रीको भ्रमण स्थगित हुनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हाम्रा सम्बन्धहरूलाई सम्भारको आवश्यकता छ । भेटघाट भइरहनुपर्छ ।’
अन्तराष्ट्रिय मामिलाका जानकार टीका ढकाल पनि भेटघाटको समय नमिल्ने वा नदिने कारणले मात्र विदेश सचिवस्तरीय भ्रमण रोकिनु जायज नभएको बताउँछन् । आफ्नो एक्स एकाउन्टमा उनले लेखेका छन्, ‘विदेश सविच भारतको दोस्रो महत्त्वपूर्ण कूटनीतिक अधिकारी हुन् र उनलाई शिष्टाचार भेटको समय उपलब्ध गराउन धेरै थिएट्रिक्स आवश्यक थिएन ।’
हाललाई उनको भ्रमण स्थगित भए पनि भ्रणको तयारी चलिरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । ‘उपयुक्त समयमा दुई देशबिच भ्रमण हुन्छ, त्यसका तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ,’ परराष्ट्रका ती अधिकारीले भने, ‘कुनै बेला पनि भ्रमण हुन सक्छ, त्यसका लागि परराष्ट्र मन्त्रालय हरहमेशा तयारी अवस्थामा छ ।’










