१ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् ।
मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले नयाँ वर्षलाई केवल उत्सवका रूपमा नभई विगतको समीक्षा र भविष्यका लागि मार्गनिर्देशन गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।
राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनमार्फत जनताले संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिप्रतिको अपेक्षा प्रष्ट पारेको बताए । उनले जनताको यही चाहनालाई पूरा गर्न सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
देशलाई सही दिशामा अगाडि बढाउन पाँच प्रमुख संकल्प प्रस्ताव गरेका छन् । उनका अनुसार लोकतान्त्रिक मूल्य र गणतन्त्रप्रति निष्ठा, सुशासन र पारदर्शिता, समावेशीकरण र सामाजिक न्याय, राष्ट्रिय स्वाधीनताको रक्षा तथा नागरिक केन्द्रित शासन व्यवस्था आजको आवश्यकता रहेको छ ।
उनले लक्ष्य हासिल गर्न दृढ संकल्प, अनुशासन र सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै सबैलाई आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे ।











