काठमाण्डौं, ४ चैत । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा, बौद्ध जागरण केन्द्र र छ्योतेर्न टासी तामाङ गुम्बाको व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ६ को सीमाना स्थित बुद्ध एकेडेमीको खुल्ला चौर परिसरमा आजदेखि दुई दिने “चा–सुम वाङ” कार्यक्रम शुरु भएको छ ।

परम पावन शरण नायक क्याब्जे सोचेन रब्ज्याम रिन्पोछे ज्युको भव्य स्वागतसहित शुरु भएको कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। भगवान बुद्धको करुणा, शान्ति र अहिंसाको सन्देशलाई आत्मसात गर्दै धर्म, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यस पवित्र अवसरमा धर्मदेशना, पूजाआजा, आशीर्वचन तथा आध्यात्मिक साधनाका विविध कार्यक्रमहरू सञ्चालन हुनेछन्, जसले सहभागीहरूलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ। सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ।
यस कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।











