काठमाण्डौं, १ चैत । आजदेखि वन डढेलो व्यवस्थापन सप्ताह’ शुरू भएको छ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरू भएको हो ।
वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वनमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।
वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउनु नै महत्त्वपूर्ण रहेको र सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।











