रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य रूपमा बढेको देखिएको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामले नेपाली राजनीतिक परिदृश्यमा नयाँ संकेत दिएको भन्दै विभिन्न राजनीतिक व्यक्तित्वहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

नेकपा एमालेका नेता तथा नेपाल जनजाति महासंघका महासचिव पेम्बा गुरुङले टेलिफोन संवादमा यसबारे टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति व्यक्तिभन्दा पनि चुनाव चिन्ह र जनआक्रोशले निर्धारण गरेको बताए । 

गुरुङका अनुसार देशमा लामो समयदेखि सत्तामा रहेका दलप्रति जनतामा असन्तुष्टि बढ्दै गएको छ । “देशमा प्रतिनिधि नचिनेर पनि धेरै मतदाताले भोट दिएका छन्,” उनले भने, “धेरैले आफ्नो भोट घण्टीमा गयो तर मैले हालेको भोटले कसले जित्यो भन्ने समेत थाहा छैन भनेर भनिरहेका छन् ।”

उनका अनुसार अहिलेको निर्वाचन परिणामलाई हेर्दा दलभन्दा पनि नयाँ विकल्प खोज्ने जनभावनाले निर्णायक भूमिका खेलेको देखिन्छ । “यो परिस्थितिलाई हेर्दा रवि लामिछाने वा बालेन शाह सूर्य वा रुख चिन्हबाट चुनाव लडेका भए हार्ने अवस्था हुन सक्थ्यो,” उनले भने, “त्यसै गरी केपी शर्मा ओली र गगन थापा घण्टी चिन्ह लिएर चुनाव लडेका भए जित्ने परिस्थिति पनि बन्न सक्थ्यो ।”

गुरुङले देशमा पछिल्लो समय देखिएको ‘घण्टी लहर’ले मतदाताको मनोविज्ञान स्पष्ट पारेको उल्लेख गरे । उनका अनुसार धेरै मतदाताले उम्मेदवारभन्दा पनि परिवर्तनको आशामा रास्वपाको चुनाव चिन्हमा मतदान गरेका छन् ।

गुरुङले “अहिले धेरै मानिसले अन्योलमै मतदान गरेका छन् । मैले हालेको भोटले घण्टी चिन्ह भएको कस्ले जित्यो भन्ने पनि धेरैलाई थाहा छैन । एक किसिमले रास्वपाको भोट एकै लहरमा आएको देखिन्छ ।”

गुरुङका अनुसार नेपाली जनता लामो समयदेखि देखिएका राजनीतिक समस्या, दलभित्रका गुटबन्दी र नेतृत्व हस्तान्तरण नहुनुजस्ता कारणबाट दिक्क भएका छन् । एमालेभित्र देखिएको गुटबन्दी र कांग्रेसमा चुनावअघि नै देखिएको आन्तरिक विवादले पनि मतदातामा निराशा बढाएको उनको भनाइ छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार पनि पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति उदाउने संकेत गरेको छ भने पुराना दलहरूका लागि आत्म समीक्षाको सन्देश दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्