मतदातामा उत्साह , सुरक्षा तयारी सन्तोषजनक : जियोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति ९जियोक० ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता उत्साहित रहेको तथा समग्र वातावरण शान्तिपूर्ण र व्यवस्थित रहेको निष्कर्षसहित आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।

जियोकले निर्वाचनको पूर्वतयारी अवस्थाबारे स्थलगत अवलोकन, कल सेन्टरमा प्राप्त सूचना तथा सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा निर्वाचन प्रशासनिक तथा सुरक्षात्मक दृष्टिले सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरिएको छ।

जियोकका महासचिव कृष्णमान प्रधान का अनुसार राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटघाट तथा अन्तरक्रियाबाट प्राप्त सुझाव र जानकारी समेटेर प्रतिवेदन तयार गरिएको हो।

राष्ट्रिय पर्यवेक्षक चिरञ्जीवी खनाल ले निर्वाचन तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। उनका अनुसार कर्मचारी मतदानस्थलमा पुगिसकेका छन्, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणमा छ र सुरक्षा निकाय संवेदनशीलताका साथ तैनाथ छन्।

यसपटक राजनीतिक दल र उम्मेदवारहरूले विगतका ठूला आमसभा र जुलुसभन्दा फरक शैली अपनाउँदै गाउँटोलमै पुगेर घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरेको पाइएको छ। यसले निर्वाचनप्रति दलहरूको प्रतिबद्धता र मतदाताको उत्साह झल्किएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारी ले निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिरहेको र सुरक्षा संयन्त्र विश्वस्त रहेको बताए। उनका अनुसार हालसम्मको अध्ययनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि अनुकूल वातावरण बनेको देखाएको छ।

अर्का पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठ ले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण सुनिश्चित भएको जानकारी दिए।

जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा करिब ४०० राष्ट्रिय पर्यवेक्षक खटाएर अध्ययन गरेको जनाएको छ। प्रतिवेदनमा जिल्लास्तरमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ।

यसअघि उम्मेदवारहरूको घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रमहरू पनि शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको जियोकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्