निर्भय मतदानका लागि अनुकूल वातावरण : निर्वाचन आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभर शान्तिपूर्ण र सुरक्षित वातावरण कायम रहेको जनाएको छ। सबै राजनीतिक दलहरूलाई आफ्ना गतिविधि संयमतापूर्वक सञ्चालन गर्न र मतदातालाई निर्भयपूर्वक मतदान गर्न कुनै अवरोध नरहेको आयोगको भनाइ छ।

मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराई ले सुरक्षाकर्मीहरू सक्रिय रूपमा परिचालन भएको र सम्भावित सुरक्षा चुनौतीबारे आवश्यक तयारी गरिएको जानकारी दिए।

उनका अनुसार बैठकमा निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र त्यसको समाधानका उपायबारे विस्तृत छलफल भएको थियो। “सबै निकायबाट निर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो रहेको ब्रिफिङ भएको छ। राजनीतिक दलहरूले आफ्ना कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गरिरहेका छन् र मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण बनेको छ,” उनले भने।

प्रवक्ता भट्टराईले सुरक्षाकर्मीहरूको सक्रियता र समन्वयले मतदातामा थप विश्वास र भरोसा बढेको उल्लेख गरे।

त्यसैगरी, आम नागरिकको सहभागिता सहज बनाउन आयोगले निर्वाचन अवधिभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको पनि उनले जानकारी दिए। आयोगले सबै मतदातालाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्