काठमाण्डौं, ७ फागुन । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ ।
घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् ।
घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ ।
यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।
यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा, गरिव परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, देश जोगाउने बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना अघि सारेको छ ।











