क्रान्तिको आधारभूमि रुकुम अब विकासको नमूना बन्छ :प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै यस क्षेत्रलाई क्रान्तिको आधारभूमिबाट विकासको नमूना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका प्रचण्डले खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो भएको स्मरण गरे। “रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। ४१ वर्षअघि नै यहाँ आएको थिएँ। रुकुम–रोल्पा जनयुद्धको आधार इलाका हो, यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ,” उनले भने।

रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोको रूपमा उल्लेख गर्दै उनले यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए। जनतासँगको भेटघाटलाई विजय उत्सवसँग तुलना गर्दै उनले भने, “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजिरहेको छ। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो अनुभूति भइरहेको छ।”

उनले वर्तमान निर्वाचनलाई नियमित प्रक्रिया मात्र नभई विशिष्ट राजनीतिक मोडको प्रतिस्पर्धा भएको उल्लेख गरे। चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको दाबी गर्दै उनले भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति तथा सुशासन, गणतन्त्र र शान्तिको पक्षमा उभिएको शक्ति बीच जनमत संग्रह हुने बताए।

“मान्छे मार्नु हुँदैन, आगो लगाउनु हुँदैन, भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्,” उनले भने। आफ्नो नेतृत्वको पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमा सक्रिय रहेको दाबी गर्दै जनताले सकारात्मक शक्तिलाई नै विजय गराउने विश्वास व्यक्त गरे।

प्रचण्डले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै सुरक्षा निकायप्रति भरोसा व्यक्त गरे। “यो निर्वाचन राष्ट्रका लागि महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने निर्णय यही चुनावले गर्छ,” उनले उल्लेख गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्