दमक । नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेदवारसमेत रहेका ओली दमकका विभिन्न टोलमा मतदाता भेटघाट कार्यक्रमका क्रममा वडा नं। १० पुगेका थिए। सो अवसरमा उनले अन्य सर्वसाधारणसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका हुन्।
कार्यक्रमका क्रममा स्थानीय रूपमा सक्रिय ‘बुहारी समूह’ले अध्यक्ष ओलीसँग भेटघाट गर्दै नेपाल कम्युनिस्ट पार्टी ९एमाले०लाई जिताउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
दमकको दक्षिणी भेगमा अवस्थित ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले केही समयअघिदेखि मोटरबोट सञ्चालनमा ल्याइएको हो। ताल आसपासको पूर्वी क्षेत्र कमल गाउँपालिका र गौरादह नगरपालिकासँग जोडिएको छ भने पश्चिमतर्फ उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिका पर्दछन्।
ओलीकै पहलमा रतुवा र मावा खोलामा पक्की मोटरेबल पुल निर्माण भएपछि दुवै तर्फको आवागमन सहज भएको स्थानीयले बताएका छन्। पुल सञ्चालनसँगै सर्वसाधारणको दैनिकी, कृषि उपजको बजारीकरण, स्वास्थ्य सेवामा पहुँच तथा स्वरोजगारीका अवसर विस्तारमा सकारात्मक प्रभाव परेको जनाइएको छ।











