खोकनाको विवाद थाती राख्दै वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सुशीला कार्कीले खोकनामा देखिएको विवाद थाती राख्दै काठमाडौँ–तराईरमधेस द्रुतमार्गको काम वैकल्पिक योजनामार्फत अघि बढाउन निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा उनले धार्मिक–सांस्कृतिक सम्पदा र स्थानीय आस्थामा असर पर्ने भन्दै उठेका सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउँदै, विवादका कारण आयोजना अनिश्चितकालसम्म रोक्न नहुने स्पष्ट पारिन्।

यसअघि गत माघ १३ गते द्रुतमार्गको निरीक्षण भ्रमणका क्रममा पनि उनले विकास निर्माणका काममा स्थानीय समुदायका चासो र सरोकारलाई सम्मान गर्नुपर्ने धारणा राखेकी थिइन्। तर, राष्ट्रिय गौरवको आयोजना लामो समय अल्झिन नदिन आवश्यक परे सुरु विन्दु परिवर्तन गरेर भए पनि छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देल लगायत द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारी तथा सचिवहरू सहभागी थिए। नेपाली सेनाले आयोजनाको हालसम्मको प्रगति, देखिएका समस्या र सरकारसँगका अपेक्षाबारे ब्रिफिङ गरेको थियो।

प्रधानमन्त्री कार्कीले विकास आयोजनामा अनावश्यक ढिलासुस्ती नगर्न निर्देशन दिँदै भनिन्, “विवादको समाधान खोज्नुपर्छ, तर अनिश्चितकालसम्म त्यहीँ अल्झिनु हुँदैन। आवश्यक परे विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० संशोधन गरी वैकल्पिक उपायबाट अघि बढ्नुपर्छ।”

उनका अनुसार, ठूलो लगानीको आयोजना लामो समयसम्म रोकिँदा आर्थिक बोझ बढ्ने भएकाले चाँडो सञ्चालन हुने गरी निकास निकाल्न आवश्यक छ। निर्देशनअनुसार अब खोकनाभन्दा करिब ३।३ किलोमिटर तल फर्सिडोल क्षेत्रमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधनको प्रक्रिया अघि बढाइने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्