काठमाडाैं : नौगाड गाउँपालिका–१ नागुवासीले सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान लिएका छन्।
विकासमा पछि परेको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार घोषणा गरेका नागुवासीले दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने अडान यथावत् राखेका हुन्।
राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत् रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए।
नागुवासीलाई फकाउन माघ २४ गने नागु पुगेको सरकारी टोली रित्तो फर्किएको छ। पहिलोपटक नागुमै दुई दिनसम्म स्थानीय बासिन्दासँग छलफल तथा सरकारी सेवा गाउँमै दिए पनि नागुवासी आश्वास्त हुन सकेका छैनन्। माघ १ र १७ गते नागुक्षेत्रका बासिन्दाले आमभेला गर्दै चुनाव बहिष्कारको घोषणा गरेका थिए।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरे पनि सार्थकता पाउन सकेको छैन। नागुक्षेत्र पुगेर स्थानीयलाई नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य उपचार सेवा र पशु उपचार सेवा तथा औषधि वितरण शिविर सञ्चालन गरिएको थियो।











