रामेछाप । मन्थली–६ तामाकोशी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, घटनास्थलमा ६ शव फेला परेका छन् भने ६ जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।
दुर्घटना काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाने क्रममा भएको थियो। दुर्घटनामा घाइते ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ।
मृतकमध्ये सातको पहिचान खुलिसकेको छ,
लिखु गाउँपालिका–४ बिजुलीकोटका २९ वर्षीय बबी तामाङ
३० वर्षीय दिपेश बस्नेत
२५ वर्षीय दिपेन्द्र बस्नेत
लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङकी ३५ वर्षीया सानुमाया तामाङ
सोही वडाकी २१ वर्षीया तारा तामाङ
दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ
गोलञ्जोर गाउँपालिका–६ का २४ वर्षीय शिव श्रेष्ठ
प्रहरीका अनुसार आज बिहान प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो। बसमा कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अझै खोजी जारी राखेको छ। सडकबाट खसेको बस नदीमा डुबेको भए पनि अहिले उक्त बस निकालिएको छ। मृतकहरूको बाँकी पहिचान खुल्ने प्रयास भइरहेको छ।











