काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै राजनीतिक पार्टीहरूले केवल भाषणमा सीमित रहँदा आफ्नो अस्तित्व बचाउन गाह्रो हुने बताएका छन्।
उनी भन्छन्, “आर्थिक रुपान्तरणको कुरा नगरिकन अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो छ। त्यसैले यो उज्यालो नेपाल पार्टी देशको उज्यालोका लागि स्थापना गरिएको हो। भाषण गरेर होइन, काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले हामी अगाडि आएका छौं।”
घिसिङले पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा धेरै सिट जित्ने विश्वास व्यक्त गर्दै देशभर उज्यालो नेपाल पार्टीको किल्ला निर्माण गर्ने उद्देश्यका साथ जुटेको बताए।
“अहिले प्रतिनिधिसभा निर्वाचनमा होमिएका छौं। हामी प्रतिस्पर्धामा छौं र धेरै सिट जित्ने विश्वास छ। देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी लागेका छौं,” उनले थपे।











