नेकपाको आगामी पाँच वर्षका लागि प्रतिबद्धता पत्र सार्वजनिक, समाजवादतर्फ देशलाई अग्रसर गर्ने लक्ष्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आज संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै देशलाई समाजवादतर्फ अग्रसर गर्ने लक्ष्य स्पष्ट पारेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बहुलतामूलक, समावेशी र लोकतान्त्रिक संरचना निर्माण, सुशासन र आर्थिक मोडल सुधार पार्टीको प्रमुख एजेन्डा भएको बताए। उनले भने, “तारा चुनाव चिह्नमा मतदान गरेर मात्र व्यवस्थामा होइन, देशको अवस्था बदल्ने अवसर दिनुहोस्।”

प्रतिबद्धता पत्र अनुसार नेकपा संघीय संरचना सुदृढ गर्दै अधिकारको स्पष्ट बाँडफाँट गर्ने, राष्ट्रिय स्वाधीनता सुदृढ पार्ने, वैदेशिक हस्तक्षेप र परनिर्भरताको अन्त्य गर्ने, र संविधानका सकारात्मक पक्षको रक्षा गर्दै आवश्यक सुधार गर्ने योजना अघि बढाउने दाबी गरेको छ।

पार्टीले महिला, मजदूर, किसान, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, आदिवासी, दलित, मधेसी, मुस्लिम, थारु, पिछडा वर्ग र सीमान्तीकृत समुदायको समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

आर्थिक मोर्चामा पार्टीले आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने, बहुआयामिक गरिबी २०।१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने, आयातमा निर्भरता घटाउने र स्वदेशी उत्पादन तथा उद्योगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै, हरित र डिजिटल अर्थतन्त्र, निजी–सहकारी–सार्वजनिक क्षेत्रबीच सन्तुलित विकास, कृषि–ग्रामीण अर्थतन्त्र रूपान्तरण, ऊर्जा, पूर्वाधार, उद्योग, उद्यमशीलता, सूचना प्रविधि, पर्यटन र सामाजिक क्षेत्रमा लगानी प्राथमिकतामा राखिएको छ।

रोजगारी सिर्जनामा वार्षिक १ लाख ५० हजार नयाँ रोजगारी, रिटर्नी उद्यमशीलता कार्यक्रम, सामूहिक खेती–उद्योग प्रवर्द्धन, बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन, सहकारी क्षेत्र पुनरुत्थान र फिनटेकमार्फत वित्तीय सेवा सरल बनाउने योजना पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।

ऊर्जा क्षेत्रमा पार्टीले आगामी पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय क्षमतालाई १५ हजार मेगावाट पु¥याउने, विक्रम संवत् २१०० सम्म ४० हजार मेगावाट लक्ष्यसहित शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने योजना अघि बढाउने लक्ष्य प्रस्तुत गरेको छ। जलविद्युत, सौर्य, वायु र साना–माइक्रो आयोजनालाई प्राथमिकतामा राख्दै भारत र बङ्गलादेशसँग भएका विद्युत निर्यात सम्झौताहरूलाई प्रभावकारी बनाइनेछ।

सहरी–ग्रामीण विकासमा पनि पार्टीले समान प्राथमिकता राखेको छ। आगामी पाँच वर्षभित्र २० वटा शहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण बस्तीलाई स्मार्ट भिलेजको रूपमा विकास गर्ने, प्रत्येक घरमा सफा पिउने पानी पु¥याउने, र पाँच लाख नयाँ आवास इकाइ निर्माण गर्ने योजना प्रतिवद्धता पत्रमा समेटिएको छ।

नेकपाले ऊर्जा, पूर्वाधार र बस्ती विकासलाई जोडेर आत्मनिर्भर, दिगो र समावेशी आर्थिक विकासको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्