काठमाण्डौं, १८ माघ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा कुहिरो लागेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै, दिउँसो तराईका केही ठाउँमा कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशलगायत बाँकी हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ र अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ । त्यसैगरी आज राति तराई क्षेत्रका केही ठाउँमा हुस्सु रहनेछ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।











