काठमाडौँ, १७ माघ । फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा चुनावमा आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न निर्वाचन आयोगले तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।
आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो ।
त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।
आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।
आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ ।











