सिन्धुपाल्चाेक, १५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट विजयी नेता प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजना स्थल निरक्षणमा पुगेको छ।
डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजना स्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्।
बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन्।
त्यसक्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए।
‘हामीलाई काठमाडौंको प्रतिनिधिले के गर्छन्? भनिरहेका हुन्छन्। यसमा संघीय सरकारको त काम आउँछ आउँछ, प्रदेश र पालिकाको पनि सहभागितमा यसलाई बनाउनुपर्छ’, उनले भने, ‘यो परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौँ। यहाँ ठूलै प्राकृतिक प्रकोप भएको देखियो। जनताको घर ढलिरहेको रहेछ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ।’
उनले यहाँका बासिन्दाको कुरा पनि संघीय सरकारले नसुनेको गुनासो आएको पनि बताएका छन्। ‘यहाँका जनप्रतिनिधिले स्थानीयको समस्या सरकारले नसुनेको बताउनु भयो। अब यहाँको पालिकालाई यसको आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ। यत्रो ठूलो मेगा प्रोजेक्ट, राष्ट्रिय गौरवको योजनामा ढिलासुस्ती हुने कारण के रहेछ भन्ने हामीले बुझ्न पायौँ।’















