प्रधानमन्त्री कार्कीको उपस्थितिमा एनआरएनएबीच बृहद् एकताको सहमति

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १४ मंसिर । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए) बृहद् एकताको सहमति भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थीतिमा एनआरएनएभित्र एकताको सहमति भएको हो । एनआरएनएको बृहद् एकताको सहमतिपत्रमा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले हस्ताक्षर गर्दै सहमतिपत्र आदानप्रदान गर्नुभएको थियो । बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

उहाले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने प्रतिवद्धता जनाउनुभयो । उहाले दलहरुबीच हुन विवादले मुलुकको समृद्धिमा नै असर पर्ने देखिएकाले एनआरएनएको एकताबाट दलहरुले पनि सिक्नुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा एनआरएनएका अध्यक्ष डा बद्री केसीले मुलुक अप्ठेरो अवस्थामा रहेकाले एनआरएनए एकताबद्ध भएर अघि बढ्न लागेको बताउनुभयो । नेपाल समृद्ध बनाउनका लागि एनआरएनएलाई दिर्घकालिन एकताबद्ध भएर देशलाई योगदान दिने उहाले बताउनुभयो ।

त्यस्तै एनआरएनएका अर्का अध्यक्ष महेश श्रेष्ठले संस्थामा चार बर्षदेखि देखिएको विवाद अन्त्य भएको घोषणा गर्नुभयो । समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताका साथ एनआरएनए अघि बढ्ने भन्दै उहाले राजनीतिक दलहरु पनि एकताबद्ध भएर देशको हितमा अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले गैरआवासीय नेपालीहरुले उठाएका बिभिन्न मुद्दाहरुलाई सरकारले सम्वोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएको दुईपक्षबीच ६ महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ । एनआरएनएभित्रको विवादका कारण दुवै पक्षले पछिल्लो केहिबर्षयता छुट्टाछुट्टै गतिविधि गर्दै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्