काठमाडौँ, १४ मंसिर। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मङ्सिर ११ गते बिहान १० देखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक÷एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।
प्राधिकरणका अनुसार, मङ्सिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सर्पामा दुई, सिरहा, सर्लाही, ललितपुर, कास्की, बाग्लुङ, पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार बराबरको क्षति भयो ।
सुक्खा मौसम सुरु भएसँगै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । रासस











