काठमाण्डौं, ११ असोज । ४६ औं विश्व पर्यटन दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरुले पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैं खुला
रहेको बताउनुभयो । जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको उहाले बताउनुभयो ।
उहाले पर्यटन क्षेत्रको समस्या समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैं तयार रहेको जिकिर गर्नुभयो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जेनजी आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकोमा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुगेको जानकारी दिनुभयो । उहाले हरेक संकटमा सरकार र निजी क्षेत्र एकभएर पर्यटन पुर्नरुत्थानमा लागेको र नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएको समेत बताउनुभयो ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था र व्यक्तिहरूलाई सम्मानित समेत गरेको छ । जसमा पदयात्रा तथा साहसिक पर्वतीय पर्यटनको विकास, प्रबद्र्धन तथा व्यवस्थापनमा स्थानीय निकायहरुमध्येबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै दार्चुलाको अपि हिमाल गाउँपालिकालाई सम्मान गरिएको छ भने आरोहण गाइड सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पालाई सम्मान गरिएको छ ।











