अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १० । सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदिश खरेलले सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय परिस्थितिक प्रणाली पुनस्थापना परियोजना कार्यान्वयनका लागि प्राप्त हुने २२ लाख ४२ हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले मध्य नेपालमा धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रुपान्तरण परियोजनाको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने ८७ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने स्थानीय जलवायु अनुकुलनशील जीवनयापन सुविधा कार्यक्रम कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । त्यसैगरि अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको उहाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले राज्यकोषबाट लगानी भएका बिभिन्न निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्न गठित सुझाव कार्यदलको कार्याविधि ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्